Connect with us
Kapilvast Forest

पीसीएल नर्सिङ पढाउने संस्थामा १०० बेडको अस्पताल अनिवार्य

२०७८, २७ कार्तिक शनिबारमा प्रकाशित

काठमाडौं – एक सय बेडको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पीसीएल) नर्सिङको पठनपाठन गराउन पाउने भएका छन् ।प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का अध्यक्षसमेत रहेका सञ्चार तथा सूचना प्रवधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षमा बसेको बैठकले मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई मात्रै भर्ना खुला गर्ने निर्णय गरेको हो ।

परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीईभीटीका सदस्य सचिव जीवनारायण काफ्लेले जानकारी दिनु भयो ।सीटीईभीटीका आंगिक शिक्षण संस्थामा एक सय बेडका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएको छ ।

आफ्नै सय बेडको अस्पताल भएका निजी शिक्षण संस्थामा पनि विद्यार्थी भर्ना लिन चिकित्सा शिक्षा आयोगले अनुमति दिइसकेको छ । ऐनको प्रावधानअनुसार मापदण्ड पुगेका शिक्षण संस्थामा तत्काल विद्यार्थी भर्ना लिएर शैक्षिक सत्रअघि बढाउने निर्णय भएको काफ्लेले बताउनु भयो  ।

ऐनले नर्सिङ अध्यापन गराउन शिक्षण संस्थाको आफ्नै एक सय बेडको अस्पताल चाहिने, एउटै शिक्षण संस्थाले बीएस्सी (स्नातक तह) र पीसीएलको नर्सिङ पठनपाठन गराउन नपाउने व्यवस्था गरेको छ ।

सीटीईभीटी मातहतका १०९ मध्ये २४ शिक्षण संस्थाले मात्रै यी दुई मापदण्ड पूरा गरेका छन् । २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन् ।

नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेका २४ शिक्षण संस्थाले विद्यार्थी भर्ना लिन पाए करीब एक हजार ५०० जनाले पढ्न पाउनेछन् ।

सय बेडको अस्पताल भएका संस्थामा नर्सिङका लागि पनि छिट्टै प्रवेश परीक्षाको सूचना जारी गरिने सीटीईभीटीका सदस्य सचिव काफ्ले जानकारी दिनु भयो ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu