Connect with us
Kapilvast Forest

आठ महिनामा एक खर्बको वस्तु निर्यात

२०८०, ७ चैत्र बुधबारमा प्रकाशित

नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।

फागुनसम्म नेपालले सबैभन्दा धेरै करिब सात अर्ब रुपियाँको गलैँचा निर्यात गरेको छ । त्यसपछि पाँच अर्ब १७ करोड रुपियाँ बराबरको अलैँची निर्यात भएको छ । फलामे छड निर्यातमा प्राप्त हुने नगद अनुदान बढाइँदा त्यसको निर्यात पनि उल्लेख्य बढेको देखिन्छ ।

विभागका अनुसार फागुनसम्म चार अर्ब ८३ करोड रुपियाँ फलामे छड निर्यात भएको छ । कुनै समय सबैभन्दा धेरै निर्यात हुने वस्तुको शीर्ष स्थानमा परेको प्रशोधित पाम तेल यस पटक भने चार अर्ब सात करोड रुपियाँको मात्र निर्यात भएको विभागको तथ्याङ्कले देखाउँछ । सबैभन्दा धेरै निर्यात हुने वस्तुको पाँचौँ स्थानमा जुस पनि परेको छ; जुन तीन अर्ब ७७ करोड रुपियाँको निर्यात भएको छ ।

दस खर्ब नाघ्यो आयात

फागुनसम्म नेपालले दस खर्ब रुपियाँको वस्तु आयात गरेको छ । विभागका अनुसार समीक्षा महिनासम्म दस खर्ब ३० अर्ब रुपियाँ बराबरको वस्तु आयात भएको हो; जुन अघिल्लो फागुनसम्मको तुलनामा २.६६ प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले दस खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु आयात गरेको थियो ।

यसबिचमा नेपालले सबैभन्दा धेरै ८८ अर्ब ८८ करोड रुपियाँको डिजल आयात गरेको छ भने त्यसपछि ४४ अर्ब ६३ करोड रुपियाँको पेट्रोल आयात भएको देखिन्छ । तेस्रो स्थानमा रहेको एलपी ग्यास मात्रै ३५ अर्ब ८७ करोड रुपियाँको आयात भएको तथ्याङ्क छ । त्यस्तै २५ अर्ब ९१ करोड रुपियाँको कच्चा फलाम आयात भएको छ । यसबिचमा नेपालले १९ अर्ब ३७ करोड रुपियाँको स्मार्टफोन पनि आयात गरेको छ । आयातको तुलनामा न्यून मात्र निर्यात हुँदा आठ महिनासम्म मुलुकको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपियाँ पुगेको छ; जुन गत वर्षको सोही अवधिको तुलनामा २.५२ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म नेपालले सबैभन्दा धेरै भारतबाट छ खर्ब ३८ अर्ब १७ करोड रुपियाँको वस्तु आयात गरेको छ भने त्यतातर्फ ६८ अर्ब ५१ करोड रुपियाँको निर्यात गरेको छ । त्यस्तै अर्को छिमेकी मुलुक चीनबाट एक खर्ब ९४ अर्ब रुपियाँको आयात हुँदा एक अर्ब ९५ करोड रुपियाँ बराबरको निर्यात भएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu