Connect with us
Kapilvast Forest

‘दलितलाई मन्दिरमा व्रतबन्ध गर्न दिइएन’

२०७६, २३ असार सोमबारमा प्रकाशित

बागलुङ । बाग्लुङको गल्कोट नगरपालिका–१, दुदिलाभाटी एक शिवालयमा दुईजना बालक दलित भएकै कारण व्रतबन्ध गर्नबाट बञ्चित भएका छन् ।

आइतबार स्थानीय १२ बर्षीय जुम्ल्याहा भाइहरु लोकबहादुर सुनार र कर्णबहादुर सुनारलाई विशेष कारणले मन्दिरमा ब्रतबन्ध गर्न लगियो, तर मन्दिरका पुजारी बलाराम सुवेदीले आशयपूर्ण ढंगले मन्दिरको ढोका नै नखोलिदिएको पीडित पक्षको भनाइ छ ।

दुई भाइलाई लिएर गएका स्थानीय मनप्रसाद सुनार, गनप्रसाद सुनार र सोमबहादुर सुनारले मन्दिरमा ब्रतवन्ध गर्न पुजारीसँग हजारौं पटक बिन्ती गरे, तर पुजारीले दलित भएकै कारणले मन्दिरमा ब्रतवन्ध गर्न नदिएको उनीहरूको भनाइ छ । यसरी विनाकारण मन्दिरको ढोका नखोलिदिनु आशयपूर्ण ढंगले जातिय विभेद भएको कानुनविद् बताउँछन् ।
दुई भाइका बाबु ताराबहादुर सुनारको शुक्रबार कुवेतमा आकस्मिक निधन भएको छ । उनको लाश यही साता नेपाल आउने क्रममा छ । बाबुको क्रिया गर्नका लागि छोराहरूको ब्रतवन्ध गर्न भनिे मन्दिरमा लगिएको थियो । तर पुजारीको व्यवहारले उनीहरूलाई थप पीडा दिएको छ । बाबुको क्रिया गर्न छोराको ब्रतवन्ध भएको हुनुपर्ने धार्मिक मान्यता छ । मन्दिरमा ब्रतवन्ध गर्न नपाएपछि एक स्थानीयको गाई मार्फत वैकल्पिक धार्मिक प्रक्रिया अपनाएर उनीहरुको ब्रतवन्ध गरिएको छ ।

पाँच बर्ष अघि स्थानीय निलबहादुर खड्काले आफ्नै लगानीमा मन्दिर निर्माण गरेर समाजलाई हस्तान्तरण गरेका थिए । दुदिलाभाटीका स्थानीयको सल्लाहमा नै बलाराम सुवेदीलाई मन्दिरको पुजारी बनाइएको हो । तर पुजारी सुवेदीले पटकपटक मन्दिरमा जातिय विभेदको व्यवहार देखाउँदै धर्मका नाममा पाप गर्दै आएका छन् । यस्तो अवस्थामा उनीमा कुनै मानवीय भावना नदेखिएको पीडित पक्षको भनाइ छ ।

यसअघि २०७४ सालको शिवरात्रीमा पनि मन्दिरमा दलित समुदायका महिलालाई पुजा गर्न उनीहरुले रोक लगाएको उदाहरण छ । पछि स्थानीयहरुले गाउँ भेला राखेर मुद्दालाई साम्य पारियो । तत्कालिन अवस्थामा आगामी दिनमा यस्तो व्यवहार नदेखाउने पुजारीहरुको पनि प्रतिवद्धता थियो । तर पुजारीले अहिले आएर यस्तो व्यवहार देखाउँदा त्यहाँको दतिल समुदाय चिन्तित् भएका छन् ।

पुजारीले स्थानीयको सहभागितामा सामूहिक रुपमा माफी माग्नु पर्ने उनीहरुको माग छ । नभए जातीय छुवाछुत तथा कसुर सजाय ऐन २०६८ अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने पीडितको तयारी छ ।

चेतना नभएका पुजारी
मन्दिर बनाउन निलबहादुर खड्काले आर्थिक लगानी गरे । तर श्रमको आधारमा त्यहाँ सबै समूदायको योगदान छ । झराली गरेर मन्दिर निर्माण गरेको त्यहाँका बासिन्दा बताउँछन् । साथै दलित समूदायकै ठेकेदार रामशरण विश्वकर्माले मन्दिर ठेक्कामा लिएर आफैले निर्माण गरेका थिए । तर अहिले मन्दिरमा दलितलाई पूजा गर्न रोक लगाउने प्रयास गरिएको छ ।

दलितले मन्दिर निर्माण गर्दा केही नहुने, तर पूजा गर्न नपाउने ? कस्ता चेतना नभएका पुजारी, अनि कस्तो यो समाज ?

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu