Connect with us
Kapilvast Forest

सप्तकोशीको पानी बस्तीमा पस्यो

२०७६, २७ असार शुक्रबारमा प्रकाशित

विद्यानन्द राम, राजविराज । निरन्तरको वर्षाले सप्तकोशी नदीमा आएको बाढीको पानी बस्तीमा पसेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१३, गोबरगाढाको सिङ्गो बस्तीमा पानी पसेको हो ।

बस्तीमा डेढ फिटसम्म पानी जमेका कारण डेढ सय परिवार घर भित्रै छन् । रातिदेखि क्रमश बाढीकाे बहाव बढिरहेकोले स्थानीयमा त्रास बढेको स्थानीय हरिनारायण यादवले जानकारी दिनुभयो ।

बाढीले बजारसम्म आउजाउ गर्ने बाटोसमेत अवरुद्ध पारेको छ । सप्तकोशी नदीको पश्चिमतर्फको तटबन्धमा भारतीय पक्षले ‘प्यालट च्यानल’ निर्माण गरेर बस्तीतर्फ पानी डाईभर्ड गरेका कारण बस्ती जलमग्न भएको यादवले बताउनुभयो ।

यादवका अनुसार हाल बाढी बढ्दो अवस्थामा रहेकोले गोबरगाढाका ६ सय घरपरिवार उच्च जोखिममा रहेका छन् । अहिले सप्तकोशी नदीमा १ लाख ७९ हजार ६ सय ४५ क्यूसेक पानीको बहाव पुगेको छ ।

बिहीबार बेलुका ६ बजे भने पानीको बहाव १ लाख ६४ हजार १ सय ५० क्यूसेक पुगेको थियो । पानी पर्नेक्रम जारी नै रहेकोले बहाव थप बढ्न सक्ने कोशी ब्यारेजस्थित कोशी नियन्त्रण शाखाले जनाएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले गोबरगाढाको अवस्था सामान्य रहेको बताउनुभएकाे छ । कोशीमा पानीको बहाव उतारचढाब भइरहेकाले सतर्कता अपनाउन आग्रह गर्दै खतरा देखिएको खण्डमा तयार अवस्थामा राखिएको उद्दार टोली खटाइने उहाँले जानकारी दिनुभयाे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu