Connect with us
Kapilvast Forest

शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण देखिएपछि मुस्ताङको विद्यालय बन्द

२०७८, २ मंसिर बिहीबारमा प्रकाशित

 

जोमसोम – मुस्ताङको थासाङ गापा—३ लेतमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयका २ जना शिक्षक र २ जना विद्यार्थी गरी ४ जनालाई कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ। सो विद्यालयले अन्य शिक्षक र विद्यार्थीलाई समेत कोरोना सर्न सक्ने भन्दै विद्यालय बन्द गर्नु परेको जनाएको छ।

ज्ञानोदय मावि लेतेका प्रधानाध्याक अनन्तराज आचार्यलले आफ्नो विद्यालयमा शिक्षक र विद्यार्थी गरी ४ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार विद्यालयमा कोरोना संक्रमण देखिएसँगै कार्तिक २९ गतेदेखि मंसिर १० गतेसम्म १२ दिनका लागि विद्यालय बन्द गर्नु परेको हो। ‘हाम्रो विद्यालयमा पढाउने दुई जना शिक्षकलाई रुघाखोकीसहितको कोरोना लक्षण देखियो। हामीले गापाको स्वास्थ्यसँग समन्वय गरी एन्टिजेन परीक्षण गर्‍यौं’, प्रधानाध्याक आचार्यले भने,‘चेक जाँच गर्दा उहाँहरुमा कोरोना देखियो। त्यसपछि लक्षण भएका २४ जनालाई परीक्षण गरायौं।’

उनले विद्यालयका २४ जनाको परीक्षण गर्दा ४ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरे। विद्यालय कोरोना पुष्टि भएका ४ जनाको स्वास्थ्य अवस्था सामान्य भएको बताइएको छ।

ज्ञानोदय मावि लेतेले मंसिर १० गतेपछि विद्यार्थी र शिक्षकको स्वास्थ्य अवस्था हेरेर विद्यालय पुन सञ्चालन गर्ने जनाएको छ। यस्तै, थासाङ—३ लेतेकै अर्को एक स्थानीय महिलामा समेत कोरोना पोजिटिभ देखिएको थासाङ गापाका स्वास्थ्य संयोजक सिताराम कार्कीले जानकारी दिए। संक्रमण पुष्टि भएकी महिलाको अक्सिजन लेवल कम भएकाले काठमाडौं लगिएको र अहिले उनको अवस्था सामान्य छ।

जिल्ला अस्पताल जोमसोममा पनि कोरोनाका बिरामी देखिन थालेको छ। अघिल्लो हप्ता सो अस्पतालमा २ जना कोरोनाका बिरामीलाई आइसोलेसन कक्षमा भर्ना गरिएको थियो। पछिल्लो समय जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएको र जिल्लाका नागरिकले खोप लगाइसकेकाले मुस्ताङमा पर्यटक आवागमनलाई सहज पारिएको हो। जिल्ला प्रशासन कार्यालय मुस्ताङले मुस्ताङ घुम्ने पर्यटकलाई पिसिआर रिपार्ट, एन्टिजेन रिपोर्ट र खोप कार्डको आधारमा जिल्ला प्रवेशको अनुमति दिएको छ।

तर दसैं-तिहार र छठ पर्वको अवसरमा मुस्ताङमा हजारौं आन्तरिक पर्यटक तथा विदेशी पर्यटक बढेपछि कोरोना संक्रमण देखिएको हुन सक्ने अनुमान गरिएको छ। मुस्ताङमा कोरोना स्वास्थ्य सुरक्षा अपनाउन ध्यान नगएकोले थप जोखिम देखिन थालेको अनुमान गरिएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu