Connect with us
Kapilvast Forest

युक्रेन जान लागेका तनावमा

२०७८, १२ फाल्गुन बिहीबारमा प्रकाशित

 

काठमाडौँ — कैलालीको गोदावरी नगरपालिका–११ का महेश रावललाई युक्रेन र रुसबीच सुरु भएको द्वन्द्वले तनाव थपिदिएको छ । शक्तिसम्पन्न रसियाले सीमावर्ती युक्रेनको डोनेत्स्क र लुहान्सक क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिँदै सैनिक परिचालन गरेको घटनाले महेशलाई चिन्तित बनाएको छ । नबनाओस् पनि किन ? उनी भारतको दिल्लीस्थित पुष्कर ओभरसिजमार्फत युक्रेनमा कामदार भिसामा जाने अन्तिम तयारीमा थिए ।

 

 

 

उनले त्यसका लागि ५० हजार भारु बुझाइसकेका थिए । बुधबार मात्रै उनको हातमा युक्रेनको भिसा लगाएको राहदानी हात पर्‍यो । महेशले भने, ‘आजै भिसा आयो तर उता के–के भइसक्यो ।’

महेशका अनुसार उनीजस्तै ९ जनाले पुष्कर ओभरसिजमार्फत युक्रेन जाने प्रक्रिया थालेका थिए । तीमध्ये तीन जनाको भिसा आइसकेको छ भने अन्य ६ जनाको भिसा आउने प्रक्रियामा छ । ओभरसिजले उनीहरूलाई प्याकेजिङको कम्पनीमा काम गर्ने र मासिक एक लाख रुपैयाँसम्म तलब हुने कामका निम्ति युक्रेन पठाइदिने बताएको थियो । महेशका अनुसार ओभरसिजले युक्रेन पठाएबापत उनीहरूसँग जनही साढे ६ लाख रुपैयाँ लाग्ने बताएको थियो ।

भिसाको प्रक्रिया थाल्ने बेलासम्म युक्रेन र रसियाबीच द्वन्द्व भइहाल्ला र स्थिति यो हदसम्म बिग्रेला भन्ने महेशले सोचेकासम्म थिएनन् । उनले भने, ‘अहिले अन्योल भइरहेको छ ।’ महेश र उनका साथीहरूले युक्रेनमा रहेका नेपालीसँग त्यहाँको स्थितिका बारेमा बुझिरहेका छन् । फेसबुकमा सक्रिय नेपाली ईन युक्रेन नामक पेजका सदस्यसँग पनि उनीहरूले त्यहाँ आउँदा कस्तो होला भनेर सोधखोज गरिरहेका छन् ।

 

परराष्ट्र मन्त्रालयले बुधबार मात्रै अत्यावश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न भन्दै सूचना जारी गरेको छ । युक्रेन हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासकी तृतीय सचिव सहारा चौलागाईंले अहिलेसम्म त्यहाँ रहेका ३९ नेपाली दूतावासको सर्म्पकमा आएको बताइन् । उनका अनुसार बुधबार मात्रै त्यहाँको एक विश्वविद्यालयमा चिकित्साशास्त्र अध्ययन गर्दै आएका नेपाली विद्यार्थीले आफूहरूलाई विश्वविद्यालयले बाँकी प्रयोगात्मक कक्षा नेपालमै गएर पढ्न भनेको बताएका थिए । कान्तिपुरसँगको कुराकानीमा उनले भनिन्, ‘धेरै जनाले आपत्कालीन अवस्था नभइसकेको बताएका छन् ।’

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ४७ पुरुष र ६ महिलाले युक्रेन जानका निम्ति व्यक्तिगत श्रम स्वीकृति लिएका थिए । विद्यार्थी भिसामा युक्रेन पुग्ने र त्यहाँ केही समय बसेर सीमावर्ती रोमानिया, हंगेरी, पोल्यान्ड हुँदै युरोपका देश जाने नेपालीहरूले संगठित मानव तस्करका स्थानीय एजेन्टहरूसँग सहयोग लिइरहेको देखिन्छ । युक्रेनमा रहेका एक नेपालीका अनुसार अवैध रूपमा युक्रेन पुगेका नेपालीहरू पोर्चुगल जानका निम्ति संगठित मानव तस्करहरूको सहयोग खोजिरहेका भेटिन्छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रमुख एसएसपी टेकप्रसाद राईले युक्रेन लगेर अलपत्र पारिएका कुनै पनि घटना ब्युरोमा नआएको बताए ।

कैलालीका महेशले आफूसँगै युक्रेन जान प्रक्रिया चालेका केही साथीले अहिले तत्कालै युक्रेन नजाने विचार गरिरहेको सुनाए । उनले भिसा हात परेको तीन महिनाभित्र कम्पनीमा हाजिर हुन मिल्ने भएकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले भने, ‘त्यत्रो पैसा फसाइसकियो । अहिले आएर के गर्ने भन्ने तनाव भइरहेको छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu