Connect with us
Kapilvast Forest

इपिसेन्टर चितवन, रविको परकम्प देशभर

२०७९, १७ मंसिर शनिबारमा प्रकाशित

साकंकेतिक तस्विर

काठमाडौं- नयाँ प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो दल बन्ने पक्का भइसकेको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले मत गणना अन्तिम चरणमा रहेका समानुपातिक प्रणालीतर्फ ११ लाख भोट कटाएको छ । अर्थात् नयाँ संसदमा रास्वपा २१ सांसदसहितको चौथो बल हुनेछ ।

सञ्चारकर्म छाडेर रवि लामिछानेले ७ असारमा मात्र आफ्नो नेतृत्वमा नयाँ दलको घोषणा गरेका थिए । दल खोलेको ६ महिनामै रास्वपाले पाएको चुनावी सफलताको इपिसेन्टर चितवन हो भने त्यसको प्रभाव देशभर परेको देखिन्छ ।

चितवनमा रास्वपाले प्रत्यक्षतर्फ ३ मध्ये २ सिट जित्यो । समानुपातिकतर्फ पनि रास्वपाले चितवनमा सबभन्दा धेरै मत पाएको छ । यहाँ कुल सदर समानुपातिक मतको ३७.८ प्रतिशत रास्वपाले पाएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । चितवन आसपासका जिल्लाहरु नवलपुरमा २३.६ प्रतिशत, तनहुँमा १७.८ प्रतिशत, गोरखामा १५ प्रतिशत, धादिङमा १०.९ प्रतिशत र मकवानपुरमा कुल सदर समानुपातिक मतको १७.६ प्रतिशत रास्वपाले पाएको छ ।

काठमाडौं उपत्यकामा पनि रास्वपाले बलियो प्रभाव रह्यो । काठमाडौं जिल्लाको १० मध्ये ४ (क्षेत्र नम्बर २, ६, ७ र ८) र ललितपुर ३ मा प्रत्यक्षतर्फ चुनाव जितेको छ । समानुपातिकतर्फ पनि काठमाडौंमा पहिलो पार्टी बन्यो । उसले १ लाख ३ हजार ५४० मत पाएको छ, जुन कुल सदर मतको २५.५ प्रतिशत हो । ललितपुरमा ३५ हजार ३८३ (२२ प्रतिशत) मतका साथ दोस्रो स्थानमा रह्यो । चितवन र उपत्यका बाहेक झापा, कास्की, रुपन्देही, दाङ, मोरङ लगायतका शहरी क्षेत्रमा पनि रास्वपाले उल्लेख्य मत पाएको छ ।

तुलनात्मक रुपमा कर्णाली प्रदेशका जिल्लाहरु डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोटमा कम मत पाएको छ । यसबाहेक ताप्लेजुङ, रुकुम पूर्व, मनाङ, मुस्ताङ दार्चुलामा कम मत छ । तर हरेक जिल्लामा रास्वपाले पाएको समानुपातिक मत ३ अंक छ । सबैभन्दा कम मनाङमा १४६ छ । निर्वाचन आयोगका अनुसार यो त्यहाँको कुल सदर समानुपातिक मतको २.९ प्रतिशत हो ।

रास्वपाका नेताहरुका अनुसार यदि पार्टी अध्यक्ष रवि चितवनको साटो काठमाडौंमै उठेको भए यो स्तरको देशभर प्रभाव नहुन पनि सक्थ्यो । रवि सुरुमा काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार बन्ने तयारी थियो । तर अन्तिम समयमा चितवन रोजे । देशका प्रायः सबै जिल्लाका मानिसहरुको बसोबास भएकाले चितवनलाई कुनै बेला ७६औं जिल्ला भनिथ्यो । अहिले पनि ७८औं जिल्ला भनिन्छ । देशको करिब मध्यभागमा पर्ने यो क्षेत्रमा रवि आफैं उम्मेदवार बन्न गए । सत्तारुढ गठबन्धनमा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन छाडेर गोरखा जानु, अनि रवि चितवन पुग्नुले सबैको ध्यान मात्र तानेन, रास्वपाको प्रभाव एकसाथ देशभर फैलिन पायो ।

त्यसमा सहमत रास्वपाका एक केन्द्रीय सदस्य भन्छन्, ‘रविजी काठमाडौंमा उठ्नुभएको भए हाम्रो पार्टीको प्रभाव पनि काठमाडौं र आसपासमा सीमित हुनसक्थ्यो । उहाँ चितवन गएर हामी अर्को विवेकशील साझा हुनबाट जोगिएछौं ।’

रवि चितवन जानसाथ भोट आएको भने होइन, त्यसका लागि अनुकूल वातावरण पनि थियो ।

पछिल्ला दिनमा परम्परागत प्रमुख दलहरु र त्यसको नेतृत्वमा रहेकाहरुप्रति मास फ्रस्टेसन जस्तै थियो ।

पटक–पटक अवसर दिंदा पनि ‘हामी मिलेपछि जे गर्दा पनि हुन्छ’ भन्ने नेतृत्वको मानसिकताका कारण प्रमुख दलले एकपछि अर्को गल्ती गरेका थिए । कोरोना महामारीका बेला जनतालाई लकडाउनमा राखेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा भएका सत्ताको छिनाझपटी देखि प्रतिनिधिसभाको विघटन, कांग्रेस नेतृत्वको नयाँ सरकार सबैको गतिविधिबाट मतदाता आजित भइसकेका थिए ।

अनि गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा धरान र धनगढी उपमहानगरका साथै काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारको जितले मतदातामा दलीय संगठन नभएका र नयाँ उम्मेदवारलाई मत दिएर पनि जिताउन सकिन्छ भन्ने आत्मविश्वास दिलाएको थियो ।

राजनीतिक विश्लेषक केशव दाहालका अनुसार धेरै मतदाता परम्परागत दलहरुलाई अब क्षमा दिन सकिन्न भन्ने निष्कर्षमा पुगेका थिए । भन्छन्, ‘कोही नयाँ आओस्, तिमीहरुलाई चाहिं भोट दिन्न भने मन मतदाताको बनेको देखिन्छ ।’ त्यसर्थ यो चुनावमा रास्वपाले पाएको मत परम्परागत पार्टीहरु विरुद्धको हो ।

रवि लामिछाने ।
वैचारिक रुपमा भिन्न ठाउँमा रहेका कांग्रेस र वामपन्थी दलहरुको गठबन्धनले पनि यसलाई मलजल गरेको देखिन्छ । खासगरी कांग्रेसलाई मत दिने लिवरल भोटरहरुले माओवादीको साटो रास्वपालाई भोट दिए । विश्लेषक दाहाल भन्छन्, ‘एमालेलाई भोट दिए उनीहरु जित्ने भए, रास्वपालाई दिंदा नयाँ पनि आउने भए, एमाले पनि रोकिने भयो । यसरी पनि रास्वपाले केही मत पाएको देखिन्छ ।’ लामो समयदेखि वैकल्पिक राजनीतिको पैरवी भइरहेका कारण पनि सुविचारित रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनेहरु पनि रहेको उनले विश्लेषण सुनाए ।

सभापति रवि लामिछाने पनि अर्को फ्याक्टर हुन् । टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’मा उनी जसरी लाउड सुनिन्थे, भुईंतहका मानिस र युवा पुस्तामा क्रेज थियो । वैदेशिक रोजगारीमा गएका नेपालीहरुले पाएको मुद्दा उठाउँदा उनी भुईंतहका धेरै मानिससम्म पुग्न सफल भएका थिए । राजनीतिमा आएपछि रास्वपाले टेलिभिजनकर्मीका रुपमा रविले बनाएको त्यो पूँजीलाई प्रयोग गरेको देखिन्छ । विदेशमा रहेकाहरुलाई लक्षित गरेर घन्टीमा भोट गर्नु भनेर घरमा फोन गरिदिनुस् भनेर ‘घरमा भनौं अभियान’ नै चलाएको थियो ।

रास्वपाले देशव्यापी चुनावी लहर सृजना गर्न सक्नुको अर्को कारण उसका उम्मेदवारहरु पनि हुन् । प्रमुख दलहरुमा टिकटलाई लिएर विवाद भयो, समानुपातिकको बन्दसूचीमा राखिएका नामहरुमा विवादित भए । रास्वपा यो सबैबाट टाढा रह्यो । बरु काठमाडौं, ललितपुर लगायतका कतिपय जिल्लामा आफ्नो क्षेत्रमा अब्बल ठहरिएका व्यक्तिलाई टिकट दिएर सकारात्मक प्रभाव पर्‍यो ।

यद्यपि रास्वपाले पाएको यो चुनावी सफलताको मुख्य कारण जनतामा व्यापकरुपमा भइरहेको असन्तोष नै भएको बताउँछन्, राजनीतिक विश्लेषक कृष्ण खनाल । ‘यो अहिले नै स्थापित पार्टीको विस्थापनामा पुग्न सक्दैन, तर पर्याप्त सन्देश आएको छ’ उनले भने, ‘पार्टीहरु अझै सुध्रिएनन् भने यसले अरु रुप लिनसक्छ ।’

वैकल्पिक राजनीतिको वकालत गर्दै आएका दाहाल पनि रास्वपाले पाएको मत विचार, एजेण्डाका कारण मास फ्रस्टेसनकाे परिणाम भएकाले जोगाउन सकिन्छ कि सकिन्न भन्ने चिन्ता रहेको बताउँछन् । ‘यो कति दिगो होला भन्ने प्रश्न छ, आशासँगै आशंका छ’ उनले भने, ‘किनकि घरको छत त देखिएको छ, त्यसको पिल्लरहरु बलियो बनिसकेको छैन । यद्यपि नयाँ पुस्ता म राजनीति गर्छु भनेर आएको छ, यो सकारात्मक छ । कस्तो राजनीति भन्ने जवाफ भने आएको छैन ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu