Connect with us
Kapilvast Forest

बास्केटबल हुँदै क्रिकेटमा लागेका थिए पारस

२०७६, २८ आश्विन मंगलवारमा प्रकाशित

काठमाडौं– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले कप्तान पदबाट मंगलबार दिउँसो एक्कासी राजीनामाको घोषणा गरेपछि सामजिक सञ्जाल तरंगित भएको छ । पारसको राजीनामा एक्कासी बाहिर आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तीनबर्ष अघिदेखि नेपाल क्रिकेट संघ (क्यान) लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले निलम्बन गरेको थियो । यही असोज १० र ११ मा काठमाडौंमा सम्पन्न क्यानको निर्वाचित साधारण सभाले चतुबहादुर चन्दको अध्यक्षतामा क्यानको नयाँ कार्यसमिति निर्वाचन गरेको थियो । आईसीसीको निगरानीमा क्यानको निर्वाचन सम्पन्न भएपछि सोमबार मात्र दुबईमा बसेको आईसीसी बोर्ड बैठकले क्यानमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिबन्ध फुकुवा भएको भोलिपल्टै पासरले कप्तानबाट राजीनामा गरेका हुन् । नेपाली क्रिकेटले पछिल्लो एक दशकमा हात पारेका सबै खाले सफलतामा पारसको योगदान उल्लेख्य थियो । उनी एक सफल कप्तान मात्र नभएर विश्वभरका क्रिकेटरले रुचाएका चर्चित खेलाडी पनि हुन् ।

शारीरिक रुपले अग्ला कदका कप्तान पारस खड्का बाल्यकालमा बास्केटबल खेल्थे । पारसले बास्केट बल खेल्ने क्रममै नेपाल क्रिकेट संघ क्यानले यू–१५ क्रिकेट टोलीको छनोटका लागि टुँडिखेलमा छनोट क्याम्प राख्यो । पारसमा पनि एकाएक क्रिकेट खेल्ने भुत चढ्यो । उनी त्यही क्याम्पमा सहभागी हुन पुगे ।

त्यही यू–१५ क्याम्पबाट पारसको क्रिकेट यात्रा सुरु भएको थियो । त्यतिवेला अध्ययनका लागि अष्ट्रेलिया जाने पारसको सोचाईलाई विस्तारै क्रिकेटले भुलाइदियो । सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपमा पहिलोपटक नेपाली टोलीको जर्सी लगाएपछि पारसले आफुलाई क्रिकेटमा पछाडी फर्केर हेर्नु परेन । अर्को वर्ष पारसले यू–१९ टोलीबाट खेले । कराँचीमा भएको यू–१९ युथ एसिया कपको पहिलो खेलमै पारसले भारतविरुद्ध खेल्ने अवसर पाए ।

सन् २००४ मा बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो । त्यसपछि पारस सोही बर्ष सिनियर टोलीमो डेब्यु गरे । पारसले काठमाडौंमै भएको एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत मलेसियाविरुद्धको खेलबाट सिनियर टोलीमा डेब्यू गरेका थिए । उनको सिनियर टोलीको यात्रा हालसम्म जारी रह्यो ।

सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्यान्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो । पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यू–१९ च्याम्पियनसिपबाट यू–१९ टोलीको कप्तान बने । उक्त प्रतियोगितामा उनी उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

सोही बर्ष पारसले एसीसी इमर्जिङ प्लेयर अफ द इयरको अवार्ड पनि जिते । उमेर समूहका प्रतियोगितामा बेजोड प्रदर्शन गरिरहेका पारसले सन् २००७ मा कुवेतमा भएको एसीसी टी–२० कपबाट सिनियर टोलीको उपकप्तान पद सम्हाले ।

उनले सन् २००९ मा युएईमा भएको एसिसी टी–२० ट्रफीबाट सिनियर राष्ट्रिय टोलीको कप्तान बनेका थिए । जुन अहिलेसम्म निरन्तर जारी थियो । नेपालले पारसकै कप्तानीमा सन् २०१० मा काठमाडौंमा भएको आईसीसी डिभिजन पाँचको उपाधि जित्यो । सन् २०१२ मा मलेसियामा भएको डिभिजन चारमा पनि पारसले नेपाललाई च्याम्पियन बनाए ।

पारसले सोही बर्ष नेपाललाई एसिसी इलाइट ट्रफी उपाधि पनि दिलाए । उनी त्यतिवेला प्लेयर अफ दी सिरिज समेत बनेका थिए । सोही प्रतियोगितामा उनले कुवेतविरुद्ध पहिलो शतक प्रहार गरेका हुन् । डिभिजन पाँचदेखि नेपाललाई एकदिवसीयको मान्यता दिलाउँदा सम्म पारसको भूमिका मुख्य रह्यो ।

सन् २०१३ मा भएको एसीसी टी–२० कपमा पनि उनी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बने । उनले सोहीबर्ष बर्मुडामा भएको वल्र्ड क्रिकेट लिग डिभिजन तीनमा नेपाललाई च्याम्पियन बनाउँदै नेपाललाई टी–२० विश्वकपमा छनोट गराए ।

छनोट खेलमा तेस्रो बन्दै नेपालले सन् २०१४ मा बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकप खेलेको थियो । सोही बेलादेखि नेपालले टी–२० अन्तर्राष्ट्रियको मान्यता पनि पाएको हो । टी–२० अन्तर्राष्ट्रियको मान्यता पाएसँगै नेपालले पहिलो पटक नेदरल्यान्डसँग चार खेलको क्रिकेट श्रृखंला खेल्यो । नेपाली क्रिकेटलाई एकदिवसीय हुँदै टेस्टको मान्यतामा पुर्याउने लक्ष्य राखेका पारसले हरेक सफलतालाई सबै खेलाडीको मेहनतको प्रतिफलका रुपमा व्यक्त गर्दै आएका थिए ।

पारस एकदिवसीय र टी–२० मा शतक प्रहार गर्ने एक्ला खेलाडी पनि हुन् । पारसको राजीनामासँगै उनको अनुपस्थितिमा नेपाली टोलीको कप्तान को बन्ला भन्ने कौतुहलता पनि चुलिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu