Connect with us
Kapilvast Forest

कष्टकर जीवन बिताउँदै वनहराका सुकुम्बासी

२०७८, १४ फाल्गुन शनिबारमा प्रकाशित

कञ्चनपुर -डडेल्धुराको आलितालमा रहेको घर जग्गा पहिरोमा परेपछि कञ्चनपुर झरेका दलबहादुर बोहरा तीन दशकदेखि वनहरा शिविरमा बस्दै आएका छन् । पहिरोमा परेर घर जग्गा गुमाएपछि बासस्थानको खोजीमा बोहराको परिवार वनहरा नदी छेउको शिविरमा बस्दै आएका हुन् । बोहरासँगै पहिरामा घर जग्गा गुमाएका सात परिवार शिविरमा बस्दै आएका छन् । सबै जनाले मजदुरी गरी जीविका चलाउँदै आएका छन् । “मजदुरी गरेको पैसाले साँझ, बिहानको छाक टार्न नै पुग्दैन”, मानबहादुर बोहराले भने, “कहिलेकाहीँ दातृ निकायले दिएको राहतले जीविका चलाउनुपर्छ ।” शिविरमा बस्दै आएको झुपडीमा राखिएको प्लाष्टिकको त्रिपालमा निकै गर्मी हुँदा सुत्नै नसकिने अवस्था रहेको उनको भनाइ छ ।

 

“वर्षा हुँदा झोपडी नै चुहिने भएपछि वनहरा नदी माथिको पुल मुनि ओत लाग्नका लागि जाने गरेका छौँ”, शिविरका अर्का स्थानीवासी तुलाराम बोहराले भने, “गर्मी सुरु भएसँगै लामखुट्टेका कारण राति सुत्नसमेत सकिने अवस्था छैन ।” पुनःस्थापनको आशमा सुकुम्बासी परिवार वर्षौंदेखि शिविर बनाएर बस्दै आएका हुन् । केही परिवार वनहरा नदीको पुल मुनि बस्दै आएका छन् ।

बैतडीको तत्कालिन सिगास गाविस ढुङ्गाड क्षेत्रबाट वर्षअघि कामको खोजीमा तराई झरेका मानध्व लुहारसमेत सोही शिविरमा बस्दै आएका छन् । पहाडमा छँदा बाजेकै पालादेखि अरुको घरमा हलिया बनेर लुहारले काम गर्दै आएका थिए । उनका बुबालेसमेत सोही बिडोलाई थामे । उनले समेत केही समय हलिया बसेरै कार्य गरे । सरकारले हलियामुक्त घोषणा गरेपछि मालिकको घरबाट उनी बिदा भए, खाली हात परिवार बालबालिकासहित । उनले भने, “केही समय भारतमा होटलमा भाँडा माँझ्ने कार्य गरे ।” साथीभाई सँगै स्वदेशमै फर्केपछि घरबास नहुँदा नदीको बगरलाई बासस्थान बनाएर बस्नुपरेको उनले बताए ।

देशको कुनै ठाउँमा आफ्नो घर र जग्गा भएको सम्झनासमेत उनलाई छैन । उनले भने, “बिहान ६ बजेदेखि मजदुरी गरेर साँझको झिमिक्क साँझ नपर्दासम्म कार्य गरेर दैनिक रु २०० कमाइ हुने गरेको छ ।” मजदुरीको पैसाले राम्ररी खानसमेत पुग्दैन । वर्षमा एकपटक खरिद गरिएका लुगाले वर्षै धान्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । मालिकले साँझ ज्याला नदिए नजिकैको नदीको पानी पिएर बालबालिकासँगै भोकै कैयौं रात सुतेको पीडा उनको छ ।

शिविरमा वर्षौंदेखि बस्दै आएका मथुरा दमाईंले पुर्खौंदेखिका हामी सुकुम्बासी रहेको बताए । “डडेल्धुरामा गुठीको जग्गामा बस्थ्यौँ । गुठीको जग्गाबाट हटाइएपछि दुई दशकदेखि शिविरमा बस्दै आएका छौँ”, उनले भने, “अरुको मल बोक्ने, खेत जोत्ने र बाली भित्र्याउने कार्य पुस्तौँदेखिको कार्य गर्दै आएका छौँ ।” ओत लाग्ने घरजग्गा नभएपछि बाध्य भएर शिविरमा बस्नुपरेको उनको भनाइ छ । “गुठीको जग्गाबाट बेदखल गरिएपछि खानाको खोजी र ओत लाग्ने ठाउँको खोजीमा बगरमा बस्न बाध्य छौँ”, उनले भने, “सुकुम्बासीलाई पुनःस्थापना गरी घरजग्गाको व्यवस्था गर्नका लागि आयोग बनेको सुनेर सुकुम्बासीको फाराम भरेका छौँ । फाराम भरेपछि जग्गा पाउने आश जागेको छ । कहिले जग्गा पाइन्छ । त्यसकै पर्खाइमा छौँ ।”

शिविरमा बस्दै आएकी कलावती दमाईंले गाउँगाउँमा अन्न मागेर कपडा सिलाइको कार्य गर्दै आएकी छन् । श्रीमानका दुवै आँखामा आएको खराबीका कारण उनको दिनचर्या निकै कष्टमय भएको छ । घरबासका लागि जग्गा र घर नभएकाले आफू पनि अरु जस्तै उक्त शिविरमा बस्न आइपुगेको उनले बताइन् । “कमाई गर्ने उमेरका दुई छोरा मजदुरीका लागि भारत पसेको दशक बढी भइसक्यो”, उनले भनिन् “घर फर्केर नआएकाले नदी किनारबाट दाउरा सङ्कलन गरेर नजिकैको बजारमा सस्तो मै बेचेर भएपनि एक छाकको खाना खर्च जुटाउने गरिएको छ ।”

शिविरमै आश्रय लिएका मोहन सुनार खुट्टाका अपाङ्ग छन् । उनकी श्रीमतीले संसार नै छाडेर बिदा भएपछि सानै उमेरका दुई छोरी र एक छोराको पालनपोषणको जिम्मा उनकै काँधमा आएको छ । दिनभरि गाउँगाउँ लठ्ठीको सहाराले पुगेर अन्न र लुगाफाटो माग्दै बालबालिकालाई साँझ बिहानको खर्च चलाउँदै आएको उनले बताए । “बालबालिकाकै लागि बाँच्नुपरेको छ”, उनले भने, “घरजग्गा नभएकाले नदीको बगर नै सबैथोक मेरा लागि छ ।”

शिविरमा झोपडी बनाएर बस्दै आएका एक दर्जन बढी भूमिहीनका ४० बढी बालबालिकासमेत शैक्षिक सामग्री र विद्यालय पोशाकका लागि खर्चको जोहो गर्न नसक्दा विद्यालय जानसमेत पाएका छैनन् । पुस्तौँदेखि सुकुम्बासी रहेका शिविरमा बस्दै आएका परिवारले भारतमा दरवारन र कुल्ली बनेर कार्य गर्नुपर्ने अवस्था अहिले पनि विद्यमान छ । युवा सबै भारतमा काम गर्छन् । बुढापाका, महिला र बालबालिका दोदा नदीमा बालुवा चाल्ने र कृषि मजदुरका रुपमा काम गर्दै आएका छन् ।

थोरै ज्यालामा काम गर्नुपर्दा साँझ बिहानको छाक टार्नसमेत यहाँ बस्दै आएका परिवारलाई हम्मेहम्मे छ । शिविरमा बस्दै आएकासँग आफ्नो जमिन भएको सम्झनासमेत छैन । बाजेभन्दा अगाडिको पुस्तादेखि नै उनीहरु अरुको घरमा काम गरेर जीवन चलाउँदै आएका हुन् । शिविरमा बस्दै आएकाहरुले भने, “ओत लाग्नका लागि घर, अन्न उब्जाउ गर्नका लागि जग्गा र घरखर्च चलाउनका लागि सीपमूलक रोजगारीको व्यवस्था भए जीवन सहज हुन्थ्यो ।” शिविरमा २४ परिवारको बसोबास छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu